जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले यहाँ उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राख्नुभयो । उहाँले भन्नुभयो, “लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उहाँले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गर्नुभयो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले नेपाली कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई समयमै कोरोना विरुद्धको खोप लगाएको तथा समयमै निर्वाचन गराएर देशलाई पुरानो लयमा फर्काउन सफल भएको दाबी गर्नुभयो ।रासस