नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहनुभएका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेल्नुभएको थियो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका खेल्नुभएका दिवङ्गत जबराको योगदानबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुसँग राससकर्मी हेमन्त जोशीले लिएको प्रतिक्रिया : ‘प्रतिकूल अवस्थामा अनुकरणीय काम गर्नुहुने व्यक्ति’ –डा तिलक रावल, पूर्व गभर्नर जुनबेला उहाँ राष्ट्र बैंकको गभर्नर हुनुभयो, त्यो बेला नेपालको वित्तीय क्षेत्र नाजुक थियो । नेपालको आफ्नो मुद्रा धेरै चलनचल्तीमा थिएन । भारतीय मुद्रा नै बढी प्रचलनमा थियो । निकै कठिन स्थिति थियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले निकै अनुकरणीय काम गर्नुभयो र त्यसलाई सफलरुपमा अघि बढाउन सक्नुभयो । वित्तीय क्षेत्रमा उहाँले राष्ट्र बैंकको प्रथम गभर्नरका रुपमा काम गर्नुभयो । उहाँ हामीलाई सधैँ प्रोत्साहन गर्ने र राम्रो सल्लाह दिने व्यक्ति हुनुहुन्थ्यो । वित्तीय क्षेत्रमा पनि उहाँ निकै सक्रिय रहनुभयो । निजी क्षेत्रका बैंक अहिले हामीले जुन अवस्थामा देखिरहेका छौँ, ती संस्था ल्याउनमा पनि उहाँको ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा काम गरिसकेपछि उहाँ संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा पनि जानुभयो । लामो समयसम्म बाहिरै बस्नुभयो । त्यहाँ पनि उहाँले आफ्नो राम्रो कामबाट इज्जत, प्रतिष्ठा कायम गर्नुभयो ।रासस