गण्डकी प्रदेशसभाले स्थापनाको पाँच वर्ष पूरा गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भई कार्यारम्भ पनि भइसकेको छ । विसं २०७४ माघ २२ गते आजकै दिन प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो कार्यकाल सङ्घीयताको कानूनी र संरचनागत जग बसाल्नमै बित्यो । अब प्रदेश संरचनालाई थप सुदृढ र संस्थागत गर्नुपर्ने दायित्व प्रदेशसभासामु छ । बितेका पाँच वर्षमा प्रदेशसभाले ५९ कानून निर्माण ग¥यो । प्रदेशसभा सचिवालयका अनुसार विधायन समितिमा विचाराधीन रहेका तीन विधेयक मात्र प्रदेशसभाको पहिलो कार्यकाल सकिएसँगै निष्कृय बने । आमसञ्चारसम्बन्धी विधेयक, कृषि व्यवस्था ऐन र केही गण्डकी प्रदेश ऐन संशोधन विधेयकले पूर्णता पाउन सकेन । सभामुख कृष्णप्रसाद धितालले बनेका ऐन, कानूनको व्यवस्थित कार्यान्वयनको खाँचो औँल्याउनुभयो । “ऐन बनाउँदै जाने तर कार्यान्वयन नहुने स्थिति भयो भने के अर्थ रह्यो र अब यसबारे पनि समीक्षा र अनुगमन गर्नुपर्छ भनेर सोचिरहेका छौँ”, उहाँले भन्नुभयो, “ऐन त जीवन व्यवहारका लागि हो, आवश्यक पहिचान गरेर मात्र नयाँ ऐन बनाउँछौँ ।” संविधानले निदृष्ट गरेबमोजिम नागरिकलाई अधिकार र सेवा सुविधाको प्रत्याभूति दिलाउन सके मात्र सङ्घीयताको औचित्य सावित हुने उहाँको भनाइ छ । सङ्घीय शासन प्रणालीलाई मलजल गर्ने, हुर्काउने, बढाउने जिम्मा सबैको भएको सभामुख धितालले उल्लेख गर्नुभयो ।रासस
