लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उहाँले भन्नुभयो, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।” सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताउनुभयो । महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भन्नुभयो । उहाँले संविधानले व्यवस्था गरेअनुसार साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएका जटिलता समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने र महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक–फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोत वितरण गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिने गरेको र त्यस्ता योजना कार्यान्वयनमा जटिलता देखिएकाले सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताउनुभयो ।रासस