नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ । टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताउनुभयो । उहाँले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गर्नुभयो । जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उहाँको भनाइ छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ । यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पु¥याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ । सात सय ३९ स्थानीय तहमा फोरजी वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ । फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताउनुभयो । डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ।रासस