गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदेशसभा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशसभालाई प्रभावकारी सञ्चालन गर्न आवश्यक स्रोतसाधनको प्रदेश सरकारको सामर्थअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विगतमा झैँ प्रदेशसभाले सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माणमा सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेशसभाले प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने पूर्ण विश्वास गर्दै यस सभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न चाहन्छु ।” नेपालमा सङ्घीयता कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले निजामती कर्मचारी सम्बन्धमा सङ्घीय कानुन नबन्दा प्रदेशसभा निजामती कर्मचारी व्यवस्थापनमा समस्या भएको बताउनुभयो । “प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेश मातहत भए पनि सङ्घबाट प्रदेशलाई हस्तान्तरण भएको छैन । साझा अधिकारका सूचीभित्र पर्ने विषयमा सङ्घीय सरकारले कानुन बनाइ प्रदेश तथा स्थानीय तहलाई सहजीकरण गर्न सकेको छैन । स्रोतहरु सङ्घीय सरकार मातहत छन्, प्रदेशलाई स्रोत परिचानलमा सीमित अधिकार मात्र प्रदान गरिएको छ ।” मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।रासस