बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थाल्नुभएको छ । जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिनुभएका खड्काले निर्वाचनको आठ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थाल्नुभएको छ । खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिककार्यमा लगाउने घोषणा गर्नुभएको थियो । खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नुभएको थियो भने हालै एक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । जनप्रतिनिधि भएको आठ महिना पूरा भइसक्दा प्राप्त सेवा सुविधावापतको रकमले खाद्यान्न सहयोग तथा विद्यालयमा अक्षयकोष स्थापना गरिएको खड्काले बताउनुभयो । जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधावापतको रकमले बागलुङ बजारको एक सामुदायिक विद्यालयमा रु एक लाखको अक्षयकोष निर्माण गरिएको नगर उपप्रमुख खड्काले बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चने गरी रु एक लाखको कोष स्थापना गर्नुभएको हो । खड्का एक महिनाभित्रै अर्को सामुदायिक विद्यालयमा समेत रु एक लाख बराबरको कोष स्थापना गर्ने तयारीमा हुनुहुन्छ ।रासस