धनगढी उपमहानगरपालिका–२ मा निर्माणाधीन अवस्थामा सौभाग्यश्वरी हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । निजी अस्पतालको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्न निर्माणाधीन अस्पताल सञ्चालनको तयारीमा रहेको छ । झण्डै रु १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको अस्पतालका सञ्चालक विवेकप्रसाद रिमालले जानकारी दिनुभयो । रिमालले भन्नुभयो, “हाल २५ श्ययाबाट सुरु भएको अस्पतालमा भविष्यमा १०० श्यया पु¥याउने योजना छ ।” उक्त लगानीमा बन्दै गएको सो भवनको काम करिब ९५ प्रतिशत सकिएको छ । यस्तै धनगढी–३ स्थित निर्माणाधीन अवस्थामा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल केही सेवा शुभारम्भ गर्दै बुधबारदेखि सञ्चालनमा आएको छ । अस्पतालले बुधबारदेखि आकस्मिक, फार्मेसी, प्रयोगशालासहितका केही विशेषज्ञ सेवा सुरु गरेको छ । बाँकी विशेषज्ञ सेवा पनि छिट्टै सञ्चालनमा ल्याइने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिनुभयो । पच्चीस श्ययाको अस्पतालमा आइसियु, एनआइसियु, पिआइसियु, सिटीस्क्यानका साथै हाडजोर्नी तथा नसारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधीबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया विशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ तथा नाक, कान, घाँटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजीलगायतका विशेषज्ञ सेवा सञ्चालनमा आएका छन् ।रासस