पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् । काहँु डाँडाको अझ प्रचार–प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्न अगामी फागुन ४ देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक संयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्षसमेत रहनुभएका गुरुङले बताउनुभयो । महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार–प्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै राष्ट्रिय फूल लालीगुँरासलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्र्सट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।रासस