नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गर्नुभयो । “सेवा प्रदायकका लागि चुनौतीका रूपमा रहेको मैले पाएको छु, विशेषतः सेवा महँगो भयो, सेवाको उपलब्धता छैन भन्ने आम गुनासो रहेका छन् । उपभोक्ताको चाहनाअनुरूप गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सेवाप्रदायक विशेषतः नेपाल टेलिकमलाई अनुरोध गर्न चाहन्छु”, उहाँले भन्नुभयो । टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नियामक निकाय पनि बल्ल नियामक जस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणका अध्यक्षज्यूले भर्खरै जुन कुरा राख्नुभो त्यो कुरामा राम्रैसँग मनन गर्नुपर्छ, प्राधिकरणका अध्यक्षलाई हामीले बेलाबेलामा भन्ने गर्थ्यौँ, अलिक नियामक जस्तै त होइदिनुस् न । आज चाहिँ नियामकले नियामकै जस्तो भाषण गर्नुभएको छ । त्यो भाषण मात्रै हैन हामीलाई झकझक्याउनु पनि भएको छ हामीले हाम्रा कामलाई कसरी सुधार गर्ने, काममा कसरी तदारुकता देखाउनुपर्ने भनेर राम्ररी व्याख्या गर्नुभएको छ, यो कुरो सबैले बुझेको हुनुपर्छ । सञ्चालक समितिका अध्यक्षको हैसियतले मैले गम्भीरतापूर्वक लिएको छु ।” टेलिकमको १९औँ वार्षिकोत्सवमा नियामक र सेवा प्रदायकबीचको सवाल जवाफले टेलिकमको सेवा र गुणस्तरीयताको साङ्केतिक झझल्को दिन्थ्यो । तथापि अनेकौँ चुनौती र व्यवधानको सामना गर्दै राष्ट्रको सञ्चार टेलिकमले सेवा विस्तार र राजस्व अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको दुवै वक्ताको कथन थियो ।रासस