कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो आज यहाँ आयोजित साधारणसभा तथा अधिवेशनमा बोल्दै उहाँले कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकारले कडाइ गर्ने बताउनुभयो । किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उहाँको भनाइ छ । कृषिमा भएको लगानीअनुसार मूल्य नपाउँदा युवा विदेशिनु परेको भन्दै उहाँले यसको नियन्त्रणका लागि आफ्नै माटोमा रमाउने खालका कार्यक्रमहरु ल्याउने योजनामा सरकार रहेको बताउनुभयो । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उहाँको भनाइ छ । उहाँले चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै समस्या समाधानका लागि सरकार तयार रहेको र यस विषयमा प्रधानमन्त्रीले समेत चासो दिनुभएको जानकारी दिनुभयो । “वास्तविक समस्या के हो भन्ने बुझेर रिपोर्टसहित ल्याउन प्रधानमन्त्रीको निर्देशन छ”, उहाँले भन्नुभयो ।रासस