ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनेपछि निर्माणको काममा सहज भएको छ । व्यास नगरपालिका–५ बेतेनीतर्फ उक्त प्रवेश सुरुङ (ब्रेक थु्र) भएपछि सेती नदीको बायाँतर्फ गरिने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरण लैजान र मानिसलाई आवतजावतमा सहज भएको हो । बाँधसम्म जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरुपमा प्रयोग गरिने आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ भएको प्रवेश सुरुङ निर्माण सम्पन्न गरिएको हो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेको उहाँले बताउनुभयो ।रासस