चालु आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्ममा कूल एक सय ४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् । यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो । गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल एक सय ५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका एक सय ४५ उद्योगमा रू एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ । यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा रू एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ । विभागका अनुसार हालसम्म नेपालमा कूल रू २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग एक हजार तीन सय ४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार पाँच सय सात रहेका छन् ।रासस