ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर । फराकिलो आँगन । करेसाबारीमा थरीथरीका तरकारी । घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट । गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै गएको छ । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तव रड र सिमेण्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीय बूढापाकाको भनाइ छ । बेनी नगरपालिका–२ बगरफाँट, मालिका गाउँपालिका–७ विम, रघुगङ््गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङ्गका जस्तापाताले छाएका घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छ ।रासस