गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ । त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ । गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चित्ना व्यक्त गर्नुभयो । खत्रीले भन्नुहुन्छ, “यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछकी भनेर आकाश तिर हे¥यो पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ ।” गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । ढोरपाटन, तमान र ताराखोलामा जौँ उत्पादन हुँन्छ । जैमिनीका कृष्णप्रसाद शर्माले करिब आठ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताउनुभयो । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाउनुभयो ।रासस