बितेको एक साता नाघ्यो, तर कतै ढोल, मृदङ्ग बजेको र ‘जोगिरा’ (फागुगीत)का भाखा (स्वर) सुनिँदैनन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीदेखि फागुन पूर्णिमासम्म बस्ती–बस्तीमा गुञ्जने परम्परागत ‘जोगिरा’ को भाखा र ढोल, मृदङ्ग बजेको सुन्न छाडिएपछि यस भेगका पाका मैथिल (मिथिलाका बासिन्दा) अब लोक परम्परा हराउँदै गएको चिन्तामा छन् । जीवनका ८० वसन्त पार गरेका महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका वृद्ध किसान जोगिन्द्र महतो यस भेगमा चाडवाड र विशेष उत्सवका लोक परम्परा देखिन, सुनिन छाडेपछि खिन्न हुनुहुन्छ । माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त उत्सव पर्वसँग जोडिएको कृषि परम्परा कतै नदेखेपछि ८१ वर्षीय महतोको मन कटक्क दुःखेको हो । “आब बुझायल, जे सब अपन पुरान मैथिल परम्परा मिटागेल, अई बेर श्रीपञ्चमी पावैनमें पासपडोस आ कतो हरक फेरालगायत नई देखलिय, पूजके लेल जन भेटल” (अब बुझ्दैछु, हाम्रा सबै मैथिल परम्परा मेटिँदैछन्, यसपालि श्रीपञ्चमीमा पर्वमा कतै हलो घुमाइएको देखिएन, न श्रमिक पुज्न नै पाइयो) । श्रीपञ्चमी कृषि कार्यसँग जोडिएको महत्वपूर्ण पर्वमा मैथिल परम्पराअनुसार अढाइ मोड (साढे दुई घुम्ती) हलो घुमाउने (जोत्ने) र श्रमिक पुजिएको कतै नदेखेपछि पुराना परम्परा हराउँदै गएको कुराले महताकोे चित्त कुँडिएको रहेछ । “श्रीपञ्चमी बितल कई दिन भगेल, मुदा कतो ‘जोगिरा’ गवैत नई सुनाइय” (श्रीपञ्चमी बितेको कति दिन भइसके, तर कतै ‘जोगिरा’ को भाखा सुनिँदैन) महतो भन्नुहुन्छ, “आब पुरान परम्परा किस्सा होयत जारहल अई” (अब पुराना परम्परा दन्त्यकथा बन्दै गइरहेका छन्) ।रासस