लुम्बिनि प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ । सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन् । गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै । विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९ वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके । बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए ।रासस