राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको फोटो सम्पादन शाखामा कार्यरत वरिष्ठ सहायक रामभगत बुढाथोकी अवकास हुनुभएको छ । ५८ वर्षीय उमेर हदका कारण उहाँ यही माघ १६ गतेदेखि अवकास हुनुभएको हो । राससमा ४० वर्ष बढी सेवा गर्नुभएका बुढाथोकीलाई आज एक कार्यक्रमबीच बिदाई गरियो । उहाँ २०३८ साल जेठ २ गते रासस सेवा प्रवेश गर्नुभएको थियो । उहाँले केही समय अस्थायी सेवा गर्नुभएको थियो । वरिष्ठ सहायक बुढाथोकीको बिदाई कार्यक्रममा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँको अवकासपछिको जीवन थप क्रियाशील बनोस् भनी कामना गर्नुभयो । राससलाई आजको स्थानमा पु¥याउन उहाँले ठूलो सङ्घर्ष गरेको जनाउँदै अध्यक्ष झाले वरिष्ठ सहायक बुढाथोकी राससको वास्तविक इतिहास भएको बताउनुभयो । राससका पूर्वकर्मचारीको अनुभवलाई पूँजीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । महाप्रबन्धक सिद्धराज राईले बुढाथोकीको अवकासपछिको जीवन सुखमय र क्रियाशील रहोस् भनी शुभेच्छा प्रकट गर्नुभयो । राससका सञ्चालक समिति सदस्य शङ्कर खरेलले उहाँको सकारात्मक सोचलाई सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । अर्का सञ्चालक सदस्य कृष्ण अधिकारीले राससका पूर्वकर्मचारीलाई गोलबन्द गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

नायब महाप्रबन्धक राजु शाक्यले संस्थाप्रतिको जवाफदेहीता र लगनशीलता उहाँबाट सिक्नुपर्ने बताउनुभयो । नायब महाप्रबन्धक श्याम रिमालले बुढाथोकी संस्थाको श्रीवृद्धिमा इमान्दारपूर्वक लागि पर्ने व्यक्ति भएको स्मरण गर्नुभयो । अर्का नायब महाप्रबन्धक सोमप्रसाद लामिछानेले उहाँको मित्रवत् व्यवहार सबै कर्मचारीले सिक्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । प्रधानसम्पादक एकराज पाठकले बुढाथोकी सधैँ सकारात्मक सोच राख्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले अवकासपछिको जीवन थप क्रियाशील होस् भनी कामना गर्नुभयो । प्रमुख समाचारदाता उत्तम सिल्वालले राससलाई आजको दिनमा ल्याउन उहाँको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । सो अवसरमा अवकासप्राप्त बुढाथोकीले आफ्नो चार दशक बढी सेवा अवधिको अनुभव राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष पवित्रा गुरागाईं, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी सङ्घका सचिव छविलाल कुमालले बुढाथोकीको अवकासपछिको जीवन थप सखुमय रहोस् भनी कामना गर्नुभयो ।रासस