नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताउनुभएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसँग बिहीबार भएको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिँदै भन्नुभयो, “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो ।” उहाँले मानव बेखबिखन र ओसारपसारका सम्बन्धमा पनि जिज्ञासा राख्दै विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राख्नुभएको थियो । राजदूत थोम्सनले खुला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएको प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।रासस