कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो । जग्गा प्राप्तिको मौखिम सहमति भएपछि निमार्णको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताउनुभयो  । “जग्गा पाउने मौखिक सहमति भएको छ, अहिले पुनः निमार्णको काम सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति जनाएका छन् ।” उहाँले जग्गा भोगाधिकारका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताउनुभयो । “अब निमार्णको काममा कुनै समस्या छैन”, उहाँले भन्नुभयो–“जग्गाको प्राप्तीका लागि पनि मन्त्रालयबाट निर्णय गर्ने प्रक्रियामा रहेको छ ।” अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच २५ मिटर पुग्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जङ्गबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निमार्णको काम समयमा सक्नुपर्ने बताउनुभयो । “हामीले विमानस्थल सञचालनमा आउनुपर्छ भनेर आवाज उठाएको पनि धेरै भइसक्यो”, उहाँले भन्नुभयो, “यसले गड्डाचौकी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई सहज हुन्छ ।रासस