पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहसंयोजक रहेको सङ्घर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमको घोषणा गरिएको हो । सङ्घर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर सङ्घर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य सङघका अध्यक्ष पवनकुमार प्रजापतिले बताउनुभयो । सङ्घर्ष समितिले बैंक तथा वित्तीय संस्थाबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्ने बताउँदै उहाँले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भए सङ्घर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घलाई जानकारी दिन अनुरोध गर्नुभयो । बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी–व्यवसायी मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उहाँले ज्यादती तत्काल रोकिनुपर्ने बताउनुभयो । विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने बताउँदै अध्यक्ष प्रजापतिले समितिको आउँदो बैठकले सङ्घर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिनुभयो ।रासस