दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो । विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो । तर परिवर्तनशील समयसँगै पुरातन सोचमा परिवर्तन आएको छ । हाल नौमती बाजा जातभन्दा माथि उठेको छ । कुनै बेला अछुतझैँ सम्झिने नौमती बाजालाई बाहुन, क्षेत्री समुदायका पुरूषमात्रै होइन, महिलाले पनि बढो गर्वका साथ बजाउन थाल्नुभएको छ । झापाको कन्काई नगरपालिका–१ स्थित कन्काइ नमूना नौमती बाजा समूह नौमती बाजा बजाउन मुलुकको कैयौँ स्थानको भ्रमण गरिसकेको छ । विराटनगरमा बिहीबार सिएनआइ एक्स्पो–२०७९ को उद्घाटन समारोहमा बाजा बजाउन आएको यो समूहले धेरै अवलोकनकर्ताको ध्यान खिच्न सफल भएको थियो । ठाउँ–ठाउँ पुगेर नौमती बाजा बजाएर उद्यमशीलताको प्रवद्र्धनमा महिला समूहको योगदान देखेर अन्य महिलामा पनि केही गरौँ भन्ने प्रेरणा जागेको छ । महिलाले नौमती बाजाका रूपमा सहनाई, कर्नाल, झ्यालीलगायतका बाद्ययन्त्र बजाएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । दलितले मात्र बजाउन मिल्ने भन्ने बाजा बाहुन–क्षेत्री महिलाले पनि बजाएको देखेर महोत्सवका सहभागी दङ्ग भएका थिए । समूहकी नेतृत्वकर्ता अनु दाहालले कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईँले लोप हुन लागेको नौमती बाजा सिक्न र बजाउन प्रेरित र प्रोत्साहन गरेको बताउनुभयो । दाहालले गाउँसमाज, घरबाट नौमती बाजा सिक्न र बजाउन हौसला पाएको बताउनुभयो । समूहमा २५ जना सदस्य रहे पनि १४ जनाले नौमती बाजा बजाउन सिक्नुभएको छ ।रासस