वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गेपुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ । पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको अध्यक्ष शाहले बताउनुभयो । झोलुङ्गे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उहाँले बताउनुभयो । यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन् । साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुङ्गे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ”, अध्यक्ष शाहाले भन्नुभयो ।रासस