प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री दाहालले सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गर्नुभएको छ । दिवस अवसरमा उहाँले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गर्नुभएको छ । आज फेब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकताः सिमसारको पुनःस्थापना’ भन्ने सङ्कल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ । जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन् । पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुवानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् ।रासस
