आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । उहाँले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “तालतलैया, पोखरीको सांस्कृतिक महत्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ ।” उहाँले भन्नुभयो, “कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायतका क्रियाकलाप भइरहेका हुन्छन् ।” सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका उहाँ बताउनुहुन्छ । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताउनुभयो । उहाँले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताउनुभयो । “निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छाँै ताल पुरिने समस्या छ ।” उहाँले भन्नुभयो, “निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ ।” उहाँले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताउनुभयो । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् ।रासस