चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताउनुभयो । “हालसम्म हामीले आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकेका छौँ । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ”, निरौलाले भन्नुभयो, “तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ ।” उहाँका अनुसार चिसेन्जी र तुइन खोलामा आठवटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ । सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठवटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो । सो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ । अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् । तराईलाई राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन् ।रासस
