सर्लाहीको हरिवन नगरपालिका–३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमिनश कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन् । हरिवन–३, ४ र ५ का कोभिड–१९ पीडित विपन्न किसानले बगरमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दै आएका छन् । नदी उकास, खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट पर्याप्त उत्पादन भएपछि जीविकोपार्जन गर्न सहज भएको हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले बताउनुभयो । किसानले बगरखेती गरी उत्पादन गरेको तरकारी बिक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि घर व्यवहार चलाउन सहज भएको छ । तीन समूहमा विभाजन गरी कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दा जीविकोपार्जनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हरिवन–३ मोहनपुरकी किसान एवं मोहनपुर कृषि सामुदायिक वन समूहकी अध्यक्ष गङ्गाकुमारी ब्लोनले बताउनुभयो । हाल उक्त वन समूहमा ६६ विपन्न कृषक आवद्ध छन् । उनीहरुले खुर्सानी, करेला, लौका, कांक्रा, फर्सी, भिण्डीलगायत तरकारी उत्पादन गर्दैआएका छन् । कृषि सामुदायिक वन समूह निर्माण गरेर नदी उकास तथा बगरको खेर गएको जमिनमा उत्पादन गरेको तरकारी बिक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेकोसमेत उहाँले बताउनुभयो ।रासस
