शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आउनु भएको छ । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गर्नुभएका उहाँले च्याउखेती गर्दै आउनु भएको हो । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गर्नुभएको छ । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । “कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा रू ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।” उहाँले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा रू एक सय ५० देखि रू दुई सय सम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उहाँको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ । “च्याउ बिक्री गरी वार्षिक रू पाँच लाख आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ ।” रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहनुभएको छ । मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।रासस