नेपालमा विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार क्षेत्र छन् । तर सिमसार क्षेत्रमा समावेश नभए पनि पर्यावरणी, पौराणिक महत्व भएको उर्लाबारी सिमसार पनि एक हो । यी सिमसार स्थानीय तहको आन्तरिक स्रोत समेत बनेका छन् । पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी लगायत गरी पाँच वटा सिमसार क्षेत्र छन् । सिमसारयुक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवर्द्धन गर्न ‘स्वच्छ समृद्ध र समतामूलक उर्लाबारी’ भन्ने नाराका साथ पर्यटक भित्र्याउने योजना बनाएको छ । विशेष गरी उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारको उचित संरक्षण र प्रवद्र्धनमा स्थानीय सामुदायिक वन र नगरपालिका गुरुयोजना बनाएर लागि परेका छन् । पूर्व–पश्चिम राजमार्गमा स्थित मङ्गलबारे चोकबाट करिब डेढ किलोमिटर उत्तरमा चारकोसे जङ्गलभित्र रहेको बेतिनी सिमसारमा पूर्व नेपालका झापा, सुनसरी लगायतका जिल्लाबाट वनभोजको समयमा वनझोज खान त अन्य समयमा घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ । सो सिमसार क्षेत्रलाई बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको छ । सामुदायिक वनको आम्दानीको मुख्य आयस्रोत वनपैदावर भए तापनि सिमसार क्षेत्रको विकाससँगै वनको आम्दानीमा सिमसारले उल्लेख्य भूमिका निर्वाह गरेको सामुदायिक वनका अध्यक्ष कुमार राई बताउँनुहुन्छ ।रासस