जेनेभामा भएको दाता सम्मेलनबाट पाकिस्तानले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इक्बालले बाढी प्रभावित क्षेत्रको सहज पुनर्निर्माण र पुनर्बास परियोजनासम्बन्धी नीति तथा रणनीति समितिको बुधबार सम्पन्न पहिलो बैठकपछि उक्त टिप्पणी गर्नुभएको हो । उहाँले जनवरी ९ मा जेनेभामा सम्पन्न जलवायु उत्थानशील पाकिस्तानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका निर्णयलाई अविलम्ब अक्षरशः कार्यान्वयन गर्ने समय आएको बताउनुभयो । समितिले परियोजना नीति, योजना, रणनीति र मापदण्डको परीक्षण र अनुमोदन गर्ने र उक्त कार्यक्रम अन्तर्गतका परियोजनाहरूको द्रुत गतिको अनुमोदन सुनिश्चित गर्ने गरी सन्दर्भ सर्तहरूलाई अन्तिम रूप दिएको छ । कार्यक्रममा एक वर्षसम्मको अल्पकालीन, तीन वर्षसम्मको मध्यम अवधि र पाँचदेखि सात वर्षसम्मको दीर्घकालीन गरी तीन चरणमा कार्यान्वयन गरिने जनाइएको छ । दस्तावेजमा सङ्घ र प्रदेश सरकार, विकास साझेदार, दातृ निकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, प्राज्ञिक क्षेत्र र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहभागिताको व्यवस्था गर्न सुझाव दिइएको छ । गत वर्ष पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण एक हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दक्षिण एसियाली मुलुक पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको थियो ।रासस