नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो,“भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।” उहाँले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नुभएको उहाँको भनाइ थियो । नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नभयो । संविधानको मान्यताविपरीत मन्त्रीले बोल्नुहुँदैन ः सांसद पन्त नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र वरिष्ठ मन्त्रीले संसद् चलेका दिन एक÷डेढ घण्टा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको आधारभूत मान्यताविपरीत नजान मन्त्रीहरुलाई आग्रह गर्छु, प्रधानमन्त्रीले राष्ट्रियसभामा बोलेको भोलिपल्ट सहरी विकास मन्त्रीले राप्रपाले सङ्घीयता र धर्म निरपेक्षता स्वीकार नगरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आएको छ ।” सार्वजनिक विषयमा प्रधानमन्त्री र मन्त्रीका कुरा बाझिनु लोकतन्त्रका लागि राम्रो नभएको टिप्पणी गर्दै उहाँले मन्त्रिपरिषद्मा बसेर संविधानविरोधी कुरा बोल्न नहुने बताउनुभयो । नेता पन्तले नेपालमा धर्म परिवर्तन गरी बढिरहेको क्रिश्चियन धर्मको विस्तारप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दलितलाई मन्दिरमा पस्न नदिने कुरामा सुधार गरिनुपर्ने विषयमासमेत धारणा व्यक्त गर्नुभयो ।रासस