‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो । सडक डिभिजन नुवाकोटले गत वर्ष प्रति योजना रु तीन करोडसम्मको पाँच वटा योजना सञ्चालनमा ल्याएकोमा चालु आर्थिक वर्षमा योजनाको सङ्ख्या बढाएर १८ वटा आएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार योजना कार्यान्वयन गर्न बजेट भने प्रतियोजना रु.५० लाखको दरले प्राप्त भएको छ । “मूल राजमार्गको आसपास बनाएर वैकल्पिक सहायक राजमार्गको विस्तार गर्नुपर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत बजेट कार्यान्वयन गर्नुपर्ने हो”, डिभिजन प्रमुख रिमालले भन्नुभयो, “योजनाको सङ्ख्या बढेर आयो, बजेटको आकार घटाइएको छ । लक्ष्य अनुसार सडक निर्माण गर्न खर्च पुग्दैन ।” गतवर्ष सञ्चालित पाँचमध्ये चारलाई रु तीन करोड र एउटालाई रु दुई करोड बजेट प्राप्त भएको थियो । खर्च अभावले ती योजना पूरा हुन बाँकी छ । बाँकी योजनामध्ये यो आवमा चार वटालाई प्रति योजना रु एक करोड प्राप्त भएको छ । ठाटीभञ्याङबाट गोल्फुभञ्याङ जाने सडकलाई बजेट नै नआएको सडक डिभिजन नुवाकोटका इञ्जिनीयर सुमन बस्नेतले जानकारी दिनुभयो ।रासस