काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ मा जमिनलाई रसिलो बनाइ राख्न खनिएका रिचार्ज पोखरीका कारण पलाएका पानीका स्रोत (मुहान) बारे अवलोकन गर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली आएको छ । नमोबुद्ध नगरपालिका–२ भागवतेस्थित विभिन्न १३ स्थानमा पोखरी खनेर सञ्चालन गरिएको आयोजना अवलोकन गर्न मङ्गलबार फिन्डल्याण्डस्थित परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेनलगायत २४ सदस्यीय टोली यहाँ आइपुगेको हो । पानीका मुहान सुक्दै गएपछि नगरपालिकाले इसिमोड र सिप्रेडको सहयोगमा सो ठाउँमा जमिनलाई रसिलो बनाइराख्न खनिएका रिचार्ज पोखरीमार्फत मुहान संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अवलोकनका क्रममा राजदूत हेका, निर्देशक किल्युनेनलगायत टोलीका सदस्यले कार्यक्रम लागू भएपछि स्थानीय समुदाय कति लाभान्वित भए भन्नेबारे जानकारी लिएको थियो ।स्थानीय बासिन्दा अश्विनकुमार श्रेष्ठले भूकम्पपछि सुकेका पानीको स्रोत रिचार्ज पोखरी खनिएपछि पुनःरसाएको बताउनुभयो । अर्का स्थानीयवासी पूर्णमान लामा र लमिनमाया लामाले पानी सुकेर पहिला आकाशे पानीको भरमा खेती गर्दै आइएकामा अहिले पानी जमाएर तरकारी खेती र पशुपालनसमेत गर्न पाएको सुनाउनुभयो ।रासस