बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन । उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ । सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन । ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो । सडक कालोपत्र भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “सडक निर्माणमा ढिलाइ भएको छ, निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नसकेको बताएको छ, तर कोरोना मत्थर भएकै एक वर्ष भइसक्यो अझै काम थालेको छैन, ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्र गर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही देखिएको छ, अहिले म्याद थप गर्ने र काममा फर्कने सहमति भएको छ ।रासस