एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको छ । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताउनुभएको छ । उहाँले फुटबल समय खेलाडीका लागि निकै चुनौतीपूर्ण रहेको बताउनुभएको हो । लस ब्लान्कोसले फेब्रुअरीको अन्त्यमा मोरक्कोमा हुने क्लब विश्वकप खेल्नेछ र च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस लिग उपाधिको होडमा रहेको छ । गत जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग मड्रिड पराजित भएको थियो भने प्रतियोगिता साउदी अरेबियामा भएको थियो । एन्सेलोट्टीले बुधबार पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी प्रतियोगिता त्याग्ने छैनौँ, किनकी यो क्लबले सबै प्रतियोगिताहरूमा सकेसम्म उपस्थिति जनाउँछ ।” “खेलाडीलाई आराम गर्नु महत्वपूर्ण छ तर अहिले उनीहरूका लागि खेलको तालिकामा अत्यधिक चाप रहने गरेको छ । “ला लिगाले आफ्नो तालिका अनुसार खेल तय गर्छ, स्पेनिस फुटबल महासङ्घ (स्पेनिस एफए) आफ्नो कार्यक्रम बनाउँछ, फिफाको आफ्नै तालिका छ र यूईएफए आफ्नै कार्यक्रमअनुसार चल्न चाहन्छ,” उहाँले भन्नुभयो । प्रशिक्षकले आफ्ना खेलाडीसँग आराम गर्ने समय नभएको र फुटबलका वरिष्ठ अधिकारीहरूको समूहले (एलाइट टिम) ले अत्यधिक फुटबल तालिका समायोजनका लागि विशेष सोच्नुपर्ने उहाँले बताउनुभयो । “यो धेरै गम्भीर विषय हो,”उहाँले थप्नुभयो । प्रशिक्षक एन्सेलोट्टीले भन्नुभयो, “हामी खेल्न उत्साहित छौँ । खेलाडीहरूले यसलाई मन पराउँछन्, तर त्यहाँ सबै कुराको सीमा छ र मलाई लाग्छ कि अहिले, यो तालिकाको साथ हामी अघि बढ्दै छौँ । हामी सबै मिलेर यसलाई परिवर्तन गर्न केही न केही गर्नुपर्छ ।”रासस