नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ । आज महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिम ा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायतका उपकरणको प्रयोगले पत्रकारमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउँदै दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीले उपचार पाउन नसकेको भन्दै निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेकाले त्यसको निराकरण गर्न संस्था लागेको बताउनुभयो । सम्झौतापत्रमा उल्लेख भएअनुसार महासङ्घको समन्वयमा छ वटा प्रदेशमा फागुनभित्र र दुवै संस्थाको स्थापना दिवसको अवसर पारेर चैत महिनामा काठमाडौँ उपत्यकामा रहेका पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निःशुल्क उपलब्ध गराइने छ । विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल नेत्रज्योति सङ्घको ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र एक सय ५० आँखा उपचार केन्द्र रहेका छन् ।रासस