आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको छ । विशेषगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस वर्षको नारा ‘थोरै खाआँै, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने रहेको कर्पाेरेसनले जनाएको छ । हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पाेरेसनले जनाएको छ । सन् १९८६ मा देखिने गलगाँड ४४.२ प्रतिशत रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न सफल भएको थियो । सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ । सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पु¥याउने नीति लिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन् ।रासस