जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो । ती क्षेत्रमा पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु बताउँदछन् । १२ वर्षअघि सम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक खम्बबहादुर मगर भन्नुहुन्छ, “केही वर्षअघि सम्म आफूले गाउँमा अरूले बिस्तारै यो खेती छाड्दै लगे, चार वर्षयता आएर म आफूले पनि यो खेती अहिले पूर्ण रुपमा छाडी दिएको छु ।” परम्परागत खेती छाड्दै गएको कारण अहिले जुनेलो र फापर उत्पादन हुन छाडेको उहाँ बताउनुहुन्छ । रौता रामेटारमा क्षेत्रमा विगतका वर्षहरुमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन गर्ने र बिक्री गर्ने गरे पनि अहिले जुनेलो खेती कृषकहरुले गर्न छाडेको रामेटारका ६७ वर्षीय सूर्यबहादुर कार्की बताउनुहुन्छ । विगतमा गाउँका एक कृषकले पाँच, सात मुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक २० हजारभन्दा बढीको फापर र जुनेलो बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । घरपरिवारमा बिहान–बेलुकी खाजाका रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खाने जुनेलो पाउन छाडेको रौता मलबासेका स्थानीयवासी डिकबहादुर मगर बताउनुहुन्छ ।रासस