हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो । नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा दुई सय २५ महिलाले निःशुल्क सेवा लिएका छन् । त्यसमध्ये ३२ महिलामा जटिल समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर आगामी फागुन १ गते बनेपास्थित अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । पाठेघरसम्बन्धी जटिल समस्या देखिएका महिलाको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्यक्रिया गरिदिने भएपछि पीडित महिला खुसी भएका छन् । नगरपालिकाले वडामा परिचालन गरेका स्वास्थ्यकर्मीले तत्कालका लागि एक सय छ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिदिएका छन् । अभियानका क्रममा एक सय चार महिलाको पिआइडी (पाठेघरसम्बन्धी सङ्क्रामक रोगको उपचार) गरिएको जनाइएको छ ।रासस