काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा पठाएको हो । यसका लागि कामपाले दुई हप्ताअघि विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १५ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १५ जना मात्र रहेकाले मङ्गलबार सबै प्रक्रिया पूरा गरी आजदेखि काममा खटाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । सहजकर्ता मात्रै होइन शिक्षण सहयोगी पनि कामपाले नियुक्त गर्न लागेको छ । शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना सहजकर्ता आवश्यक रहने कामपाले जनाएको छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ ।रासस