मधेस–प्रदेशस्थित पर्साको वीरगञ्जका अधिकांश सामुदायिक र व्यावसायिक रेडियो यतिबेला आर्थिक सङ्कटमा परेका छन् । दक्ष जनशक्तिको अभाव, व्यावसायिक विज्ञापन नपाउने, सरकारको दोहोरो कर नीतिलगायत कारणले एफएम रेडियो सञ्चालन गर्न समस्या भएको सञ्चालकहरूको गुनासो छ । ‘सामुदायिक र व्यावसायिक रेडियो सञ्चालनको अवस्था र प्रदेश सरकारले गर्नसक्ने सहयोग’ का सम्बन्धमा प्रदेशको आम सञ्चार प्राधिकरणले यहाँ आयोजना गरेको कार्यक्रममा स्थानीय रेडियो सञ्चालकहरूले दक्षजनशक्ति र विज्ञापनको अभावका कारण रेडियो सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । ‘‘हामीले अहिले सहजरूपमा विज्ञापन पाउने अवस्था छैन”, सामुदायिक रेडियो नारायणी एफएमका सञ्चालक गोविन्द देवकोटाले भन्नुभयो, ‘‘अहिले एफएमको आर्थिक स्रोत खुम्चिँदै गएको छ, सहजरूपमा विज्ञापन पाउने स्थिति छैन्, कमिसन पाइने हिसाबले मात्र विज्ञापन उपलब्ध गराइन्छ ।” ‘‘ वीरगञ्जमा सामुदायिक र व्यावसायिक गरी १३÷१४ वटा एफएम रेडियो छन्” विज्ञापन नपाएर ती सबैको आर्थिक अवस्था जर्जर भइसकेको छ”, उहाँले भन्नुभयो,‘‘यस्तो अवस्थामा दक्ष जनशक्ति राख्ने र कन्टेन्ट अनुसारको कार्यक्रम तयार पार्न समस्या भइरहेकाले प्राविधिकको भरमा गीत बजाएर मात्र एफएम चलाउनु बाध्यता हामीसँग छ”।रासस