नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो । नवलपुरको झ्यालबास हुँदै डेढगाउँ र डेढगाउँबाट तनहँकोु मानपुर फुला सडकमा जोडिएर पोखरासम्म पुग्ने यो सडकले जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने छ । ३० महिनामा काम सम्पन्न गर्ने गरी लामा गौरीशङ्कर जेभीले विसं २०७९ वैशाखमा सडक निर्माणको जिम्मा पाएको थियो । रु ५१ करोड लागतमा निर्माण गरिने भनिएको भए पनि निर्माण कम्पनीले रु ३२ करोडमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पूर्वाधार विकास कार्यालय नवलपुरका इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । नवलपुरको झ्यालबासदेखि डेढगाउँसम्म १४ दशमलव एक किलोमिटर लम्बाइ रहेको सडक दुई लेनको बन्ने तथा कालोपत्रको भाग सात मिटरको रहने इन्जिनियर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक रुपमा ४० देखि ५० कामदारले काम गरिरहेको र डाँडा काट्ने काम भइरहेको छ । “अहिले बाटो फराकिलो पार्ने, डाँडा काट्ने र माटो हालेर पुर्नुपर्ने ठाउँमा काम भइरहेको छ”, पौडेलले भन्नुभयो । गत वैशाखमा सम्झौता भएको भए पनि वर्षाको समयमा काम गर्न नसकिएको र निर्माण सामाग्री पर्याप्त नभएकाले अपेक्षित भौतिक प्रगति हुननसकेको लामा गौरीशङ्कर जेभीका सञ्चालक पेमा लामाले बताउनुभयो ।रासस