विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ । विराटनगर–७ मा आदर्श बालिका विद्यालय छ । बालिकामात्र अध्ययन गर्ने आदर्श विराटनगरको एक मात्र विद्यालय हो । विद्यालयमा तीन सय २५ बालिका अध्ययनरत छन् । कक्षा १ देखि कक्षा १० सम्म नेपाली माध्यममा यहाँ पढाइ हुन्छ । विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका पढछन् । सरदर दैनिक २० देखि २५ बालिका कक्षामा हाजिर हुँदैनन् । घरको कामले नभ्याएर पनि कतिपय बालिका विद्यालय आउनबाट वञ्चित हुने गरेको आदर्शका प्रधानाध्यापक रमेश नेपालले बताउनुभयो । उहाँले आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक रहेको बताउनुभयो । सबेरै उठेर काममा अभिभावक हिँड्नुपर्ने भएकाले कलिलो उमेरमा नै बालिकाले घरको काम सम्हाल्नुपर्ने स्थिति रहेको बताउनुभयो । कक्षा ७ की १३ वर्षीया पिङ्की राजवंशीलाई विद्यालय आउनुअघि र विद्यालयबाट घर पुगेपछि कामको नै चटारो हुने गर्छ । विराटनगर–८ को अशोकचोक बस्ने राजवंशीको घरमा हजुरबुबा, हजुरआमा, बुबा, आमा र ६ वर्षको भाइ छ । राजवंशीको बुबा रमेश राजवंशी र आमा सन्तोषी राजवंशी कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलमा कार्यरत हुनुहुन्छ । राजवंशीका बुबाआमा बिहानै काममा जानु हुन्छ र अबेर राति घर फर्कनुहुन्छ ।रासस