होटल सञ्चालन गरेर नमुनफेदीका वुद्धबहादुर लोप्चन(सुमन)ले मनग्य आम्दानी गर्दै आउनुभएको छ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबँेशीका सुमनले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–५ चन्दनपुरको सिमाना नमुनफेदीमा खाना र खाजा होटल चलाएर आम्दानी गर्दै आउनुभएको हो । सो ठाउँमा कच्ची मोटरबाटो खोलेपछि लामो दूरीका यात्रुको आराम गर्ने र खाना खाने केन्द्रको रुपमा नमुनफेदी बनेपछि विगत पाँच वर्षदेखि उहाँले सो व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो । व्यवसायबाट अहिले मासिक एकदेखि डेढलाखसम्मको आम्दानी भइरहेको उहाँले बताउनुभयो । परिवार बाहेक उहाँले थप एक स्थानीयलाई रोजगारी दिनुभएको छ । होटलमा काम गर्दै आउनुभएका दीपक हुँमागार्इंले होटल सञ्चालन भएर राम्रो चल्न थालेपछि आफूले काम गर्दै आएको बताउनुभयो । दैनिक सय बढी ग्राहक आउने गरेका बताउने उहाँले सिजनमा दुई सय भन्दा बढी हुने बताउनुहुन्छ । बनेपाबाट ठूलादुर्लुङ तालढुङ्गा जाने यात्रुबस र त्यस आसपासमा चल्ने दैनिक चार वटा यात्रुबाहक बस त्यस क्षेत्रमा चल्ने भएको कारण टाढाका यात्रा गर्नेहरु त्यही क्षेत्रमा खाना र खाजा खाने गर्छन् । पाँच वर्ष मलेसिया बसेर फर्कनिुभएका हुँमागाईंले गाउँमा नै फर्केपछि दुई वर्षदेखि काम गर्न थालेको बताउनुभयो । “नजिकै भएकोले घरको काम भ्याएर यहाँ काम गर्छु”, उहाँले भन्नुभयो, “घर आँगनमा नै काम गर्न पाएर मासिक चालीस हजार कमाउन पाउँदा खुुसी छु ।” मोटरबाटो चलेपछि रोजगारीको लागि बनेपा र काठमाडाँै धाउनुपर्ने बाध्यता हटेर गाउँमा नै रोजगारी सिर्जना भएको उहाँको भनाइ छ ।रासस