यातायात क्षेत्रमा कार्यरत मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रको सुधारका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले आज उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात क्षेत्रको सुधार र पुनर्जागरणका लागि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् । भेटमा सङ्घ सङ्गठनले सार्वजनिक यातायात क्षेत्रको व्यवस्थापन, सञ्चालन, परिचालन र यात्रुहरुको गुणस्तरीय, भरपर्दो र सुरक्षित सेवाका लागि हाल रहेको सरकारी संरचना यातायात व्यवस्था विभाग, यातायात कार्यालय खारेज गरी यातायात मन्त्रालय छुट्टै निर्माण गरी श्रमिक र सरोकारवालाको प्रतिनिधित्व रहने गरी अधिकार सम्पन्न ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्न माग गरेका हुन् । भेटमा सिमानामा नेपाली चालकले भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्नुपर्ने, यातायात क्षेत्रलाई मर्यादित बनाउन, श्रमिक र व्यवसायीलाई अनुशासित बनाउन, यात्रु तथा पैदलयात्रुलाई जिम्मेवार बनाउन सडक सुरक्षा काउन्सिल निर्माण गर्न माग गरेका छन् । रासस
