सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ । सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ । विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति शृङ्खला, महङ्गो उत्पादन लागत, ऊर्जा तथा खाद्य सङ्कटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आइएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ । कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत तीन दशमलव पाँच प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा नौ दशमलव नौ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित भएको आइएमएफले जनाएको छ ।रासस