बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ । मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन् । “जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्”, बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भन्नुभयो, “अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ ।” नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ । मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ ।रासस