बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आउनुभएको छ । उहाँले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । तर बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ । “काम गर्ने जनशक्ति नभएर मागेको जति पु¥याउनै सकिएको छैन”, उहाँले भन्नुभयो, “बाँसको काम अलि गाह्रो भएर होला सबै विदेश गएर मान्छे पाइँदैन ।” स्थानीय तहहरूले बेदबाँस सामग्री उत्पादनका लागि दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरे बाँससम्बन्धी उद्योगलाई टेवा पुग्ने राईको भनाइ छ । विसं २०७८ मा रु एक लाखको लागतमा स्थापन भएको राईको उद्योगले दैनिक तीन जनालाई रोजगारी दिएर रु ३० देखि पाँच हजारसम्मका पाँच सय प्रकारका बाँसका सामग्री उत्पादन गर्दै आएको छ । मासिक रु ६० हजारसम्मको कारोबार गरेर रु ४० हजारसम्म कमाइ गर्न राईले यही पेसाबाट कमाएर मोरङको विराटचोकमा १० धुर जमिनसमेत जोडेको जानकारी दिनुभयो । त्यस्तै सहिदभूमि गाउँपालिका घर भई हाल धनकुटा नगरपालिका–७ मा धनुबाँस निगालो उद्योगका सञ्चालक चन्द्रप्रकाश राईले पनि कामदार अभावमा बजार माग पूरा गर्न नसकिरहेको जानकारी दिनुभयो ।रासस