पनौती नगरपालिका–७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालिएको हो । सन् १९९१ मा पुरानो बजार क्षेत्रको ‘पनौती संरक्षित स्मारक क्षेत्र’ घोषणा गरिसकेको थियो । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिँदै छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेछ । आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै अगाडि बढाउन सरोकारवाला सङ्घ÷संस्था र निकायसँग छलफल सुरु गरेको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताउनुभयो । “स्थानीय सरकार, सङ्घ संस्था, समुदाय सबै एकताबद्ध भएर लाग्नका लागि यो छफलको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा जे जति गरेर काम अगाडि बढाएका थियौँ, त्यसलाई पूर्णता दिँदै अब बाँकी कामलाई सफल पार्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।”रासस