आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भईरहेको छ । पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रूत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो । ९.७ मेगावाट क्षमताको यस आयोजनाले हिँउदको समयमा भने कूल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ । पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोला (इन्द्रावती)मा आयोजना निर्माणाधीन छ । इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो । यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । “पाइपलाइन र केही प्राविधिक काम बाँकी छन्”, आयोजना प्रबन्धक नेपालले भन्नुभयो, “निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ ।रासस
